वफेटको सफलता सुत्र- प्रगति उसैले गर्छ जसले ‘इन्नोभेसन’ गर्छ
शेयर बजारमा ५० वर्षदेखि एकछत्र राज गरिरहेका अर्बपति लगानीकर्ता वारेन बफेटले आफ्नो कम्पनीलार्इ वार्षिक सम्बोधनका रुपमा पत्र लेखे। कम्पनीका शेयरहोल्डरहरुलार्इ लेखिएको सम्बोधनपत्रमा उनले अमेरिकी अर्थतन्त्रका विशेषताहरु अदभूत रहेको भन्दै प्रशंसा समेत गरे। आफ्नो कम्पनी बर्कसायर हाथवेको वार्षिकोत्सवका क्रममा उनले लेखेको पत्रमा आफ्नो खारिएको अनुभवका साथै लगानी टिप्सहरु समेत ‘सेयर’ गरेका छन् ।
सँधै नै अमेरकी अर्थतन्त्रका बारेमा पूर्ण सकारात्मक र आशावादी चित्रण गर्ने बफेटले यस पटक अमेरिकालार्इ चलाख र सिर्जनशील अमेरिकी बजार ब्यबस्था, प्रतिभाशाली र महत्वाकांक्षी आप्रवासी एवं बिधिको शासनले बाँधिएको बहुआयामिक अमेरिकी अर्थतन्त्र भनेर ब्याख्या गरे।
गत राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टनको ‘सपोर्ट’ गरेका बफेटले आफ्नो पत्रमा राष्ट्रपति ट्रम्पको नाम भने उच्चारण गरेका छैनन्। अमेरिकी अर्थतन्त्रमा विषम परिस्थितीमा पनि निरन्तर बृद्धितर्फ उन्मुख हुने क्षमता रहेको उनले उल्लेख गरेका छन्। यसरी ट्रम्पको कार्यकाललाई सांकेतिक रुपमा ‘विषम’ संज्ञा दिएका छन्।
उनले पत्रमा ट्रम्प सरकारले आप्रवासीप्रतिको लिएको कडा रवैयालाई समेत घुमाउरो ढंगले ब्यंग्य गरेका हुन्। उनले ‘क्षमतावान र महत्वाकांक्षी आप्रवासीको लहरले नै अर्थतन्त्र बृद्धितर्फ सँधै उन्मुख’ भनेर आप्रवासीहरुको भूमिकालार्इ सम्मान दिएका हुन्।
बर्कसायर हाथवेले सन् २०१६ मा अपेक्षित लाभ हासिल गरेको रिपोर्ट समेत उनले सार्वजनिक गरे। सन् २०१६ एसएण्डपि इन्डेक्समा हाथवेको शेयरमूल्य २३ प्रतिशतले बृद्धि भएको छ।
हाथवे अन्तर्गत गेइको बीमा कम्पनी, बिएनएसएफ रेलरोड कम्पनी र अन्य दर्जनौं लब्धप्रतिष्ठित कम्पनी छन्। जसको, अमेरिकी अर्थतन्त्रमा महत्वपूर्ण स्थान छ। उनका कम्पनीहरुको सञ्चालन मुनाफा सन् २०१६ मा १७.५ अर्ब अमेरिकी डलर रहेको छ। सन् २०१५ मा यो मुनाफा १७.३ अर्ब अमेरिकी डलर रहेको थियो। कम्पनीको वार्षिक साधारण सभा आगामी मे मा हुँदैछ। वार्षिक रुपमा गरिने सम्बोधनलार्इ निरन्तरता दिँदै वफेटले पत्र लेखेका हुन्।
८६ वर्षका बृद्ध बफेट चानचुने होइनन्। यो उमेरमा पनि उनलार्इ टक्कर दिने गरी समानान्तर रुपमा कोही उभिन सकेको छैन। यतिबेला उनीसँग ‘क्यास’ मात्रै ८५ अर्ब डलर छ। निरन्तर ५० वर्षको अनुभव र बजारमा खारिएका उनले लगातार नयाँ उचाइ छोइ रहेका छन्।
बफेटको वालस्ट्रिटसँग जटिल सम्बन्ध रहेको छ। उनलार्इ ‘हाइ पे’ कल्चरको प्रखर आलोचक मानिन्छ। यस्तै समूहगत सोच र अतिरिक्त शुल्कलार्इ पनि नरुचाउने बफेट खराब अवस्थामा पुगेका कम्पनीहरुको ठूलो शेयर हिस्सा किन्न भने माहिर छन्।
२८ पृष्ठ लामो पत्रमा बफेटले कम्पनीका उतारचढाव र कसरी विषम परिस्थितीमा पनि कम्पनीलार्इ सफल बनाइयो भन्ने बारेमा नै धेरै शब्द खर्चेका छन्। उनले आगामी दिनमा जोखिम न्यूनिकरणका लागि ‘हेज फण्ड’ प्रवर्धनमा समेत जोड दिएका छन्।
बफेटले कम्पनीहरुको निराशाजनक ‘परफरमेन्स’, उच्च शुल्क तथा सस्तो र ‘प्यासिभ’ विकल्पको खोजी बढ्दै गएको कारण हालैका वर्षमा लगानीकर्ताको पैसा जोखिममा पर्न थालेको उल्लेख गरेका छन्। यही कारण दीर्घकालमा हेज फण्ड आवश्यक हुने उनको धारणा छ।
बफेटले म्यानेजरहरुको बारेमा पनि आफ्नो स्पष्ट धारणा रहेको बताएका छन्। म्यानेजरहरु इमान्दार र भद्र हुने भन्दै उनले प्रशंसा समेत गरे। धेरैजसो अवस्थामा म्यानेजर इमान्दार भए पनि लगानीकर्ताका लागि भने प्रायः ‘डिप्रेसिङ’ नतिजा आउने उनले बताएका छन्। यसरी उनले लगानीकर्ताको रुपमा आफूले सँधै उच्चतम प्रतिफल नै चाहनेतर्फ समेत संकेत गरे।
बफेटले पत्रमा आफ्ना पार्टनर तथा कम्पनीका भाइस चेयरम्यान चार्ली मुंगरको पनि तारिफ गरेका छन्। चार्लीले आफूले गरेका कतिपय गलत चयनप्रति बिमती जनाएको भन्दै आफ्ना निर्णयहरुप्रति खेद समेत प्रकट गरेका हुन्। उनले कम्पनी र शेयरधनीको हितमा सँधै काम गर्नु नै आफ्नो ड्युटी भएको तर सँधै अपेक्षित लाभ मात्रै नहुने र कहिलेकाँही निराशा पनि हात लाग्ने बताए।
कम्पनीले शेयरहरु ‘रिपर्चेज’ गर्दा के कस्ता सावधानी अपनाउनुपर्छ भन्ने बारेमा पनि उनले आफ्नो अनुभव बाँडेका छन्। बफेटका अनुसार शेयर रिपर्चेज सँधै बिक्रेताको हितमा देखिन्छ। उ बजारबाट बाहिरिन चाहेको हुन्छ, बाहिरिनु उसको लागि प्लस पोइन्ट नै हो। किन्नेले भने राम्रोसँग बजार निर्क्योल गर्न सकेन भने उ समस्यामा पर्न सक्छ। बिक्रेताको लागि बजारमा नयाँ क्रेता आउनु हितकारी हुन्छ। रिपर्चेज गर्दा के कुरामा बिचार पुर्याउनुपर्छ भने शेयर मूल्य जहिले पनि त्यसको बेसिक प्राइसभन्दा कम हुनुपर्छ। त्यसो भयो भने रिपर्चेजबाट घाटा हुँदैन।
बफेटले आफ्ना एक आफन्तसँगको रमाइलो संवादलार्इ माध्यम बनाएर कसरी ब्यापार गरिन्छ भन्ने विषयमा सटिक उदाहरण समेत प्रस्तुत गरेका छन्।
बफेटका अनुसार उनका एक आफन्त होमर रोजर्स बस्तुभाउ बिक्रीकालागि कमिसन एजेन्टका रुपमा काम गर्थे। बस्तुभाउको बेचबिखन गरिदिए बापत उनले कमिसन पाउँथे। एकदिन बफेटले उनलार्इ सोधे- तपार्इं कसरी मानिसहरुसँग मोलमोलाइ गर्न सक्नुहुन्छ? र, किन्न प्रेरित गर्नुहुन्छ? किनभने क्रेता आफैं बस्तुभाउ बारे बढी जानकार हुन्छन् र कति पैसा हाल्ने भनेर पूर्वतयारीका साथ आएका हुन्छन्।
होमर रोजर्सले उनलार्इ गम्भीर भएर भनेछन्- ‘वारेन, सामान कसरी बेच्ने भनेर सोच्ने होइन, कसरी उनीहरुलार्इ सामानका बारेमा ब्याख्या गर्ने भन्ने प्रमुख कुरा हो।’ यहि कुराले वफेटलार्इ पछिसम्म पनि प्रभाव पार्यो रे!
उनी भन्छन्-‘आखिर जुन सिद्धान्त बस्तुभाउ किनबेचमा लागु भएको थियो अन्तत: त्यहि सुत्रले वाल स्ट्रिटमा पनि काम गर्यो।’
बफेटका अनुसार लगानीलार्इ सफल बनाउनेदेखि लिएर पतनको दिशामा लैजाने पनि तीनवटा अन्तरसम्बन्धित वास्तविकता छन्। उनका अनुसार पहिलो वास्तविकता- राम्रो रेकर्डले पैसा तान्छ।
दोस्रो वास्तविकता- ठूलो रकमले लगानीको परफरमेन्सको लागि काम गर्छ। ‘ह्वाट इज इजी विथ मिलियन्स, स्ट्रगल विथ बिलियन्स (सरल बाटोबाट लखपति भइन्छ भन् केही संघर्ष गरे अर्बपति)।’
तेस्रो वास्तविकता- धेरैजसो म्यानेजरहरु नयाँ पूँजीको संभावना खोज्नतिर अर्थात नयाँ स्रोत उत्खनन गर्नतिर नै लाग्दैनन्। उनीहरुको ब्यक्तिगत समिकरण कस्तो हुन्छ भने आफ्नो मातहतमा जति धेरै पूँजी भयो त्यति नै सफल मानिन्छन्। बजारमा उनीहरुको ‘रेट’ पनि बढ्छ । त्यसैले ‘रिस्क’ लिन चाहँदैनन् ।
बफेटका अनुसार लगानीकर्ताले यि सबै कुराहरुमा ध्यान पुर्याउनुपर्छ। उनका अनुसार यदि एक हजार म्यानेजरले बजार प्रेडिक्ट गरे भने कम्तीमा बजारमा एउटाको मात्र ‘प्रेडिक्सन’ सही सावित हुन्छ। त्यसैले ‘हाइ-पेड’ म्यानेजरले मात्रै राम्रो गर्छन् भन्न नहुने उनी तर्क गर्छन्। बफेट आफ्नो अनुभवका आधारमा भन्छन्- ‘मैले आफ्नो जीवनकालमा त्यस्ता दशजना ब्यक्तिमात्र भेटेको छु जो वास्तवमै उच्च ब्यवस्थापकीय क्षमताका थिए।’
लगानी ब्यबस्थापन इन्नोभेटिभ काम हो। र, बफेट भन्छन्- यसमा प्रगति उसैले गर्छ जसले ‘इन्नोभेसन’ गर्छ ।
-Source : Bizmandu













0 comments
Write Down Your Responses